कतारबाट यस्तो शिक्षा लिएर फर्किएँ : प्रचण्ड

गल्फमा रहेका युवालाई ध्यान नदिई अबको राजनीति चल्दैन
२२ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अरबको भूमिमा रहेका करिब २५ लाख
नेपाली युवाहरुको समस्यालाई सम्बोधन नगरी अब नेपालको राजनीति नचल्ने बताएका छन् ।यसैसाता कतारको भ्रमण गरी त्यहाँका प्रधानमन्त्रीलाईसमेत भेटी नेपाली कामदारको सुरक्षा र सुविधाबारे आवाज उठाएर फर्केका प्रचण्डले विहीबार अनलाइनखबरसँग कुराकानी गर्दै भने- ‘म कतार गएको कुरा त एउटा सन्दर्भ मात्रै हो, तर विदेशमा रहेका नेपालीको विषयलाई दीर्घकालीन महत्वमा हिसाबले हेर्नुपर्छ ।’
प्रचण्डले कतार भ्रमणको अनुभव सुनाउँदै अनलाइनखबरसँग भने- ‘नेपालको राजनीतिक नेतृत्वले अब गल्फ कन्ट्रीमा गएका र विश्वभरि छरिएका नेपालीहरुको हित र उनीहरुको सुरक्षा, सुविधा र उनीहरुले नेपालमा संस्थागत ढंगले गर्न सक्ने योगदानलाई ध्यान नदिइकन अब नेपालको राजनीति चल्दैन भन्ने शिक्षा लिएर आएको छु ।’प्रचण्डकै शब्दमा कतार भ्रमणको अनुभव-
विदेशमा रहेका नेपालीको विषयलाई हाम्रो पार्टीले र अध्यक्षका हिसाबले मैले चाहिँ अलिकति रणनीतिक हिसावले दीर्घकालीन महत्वको र सैद्धान्तिक रुपले नै हेर्नुपर्ने विषय ठानेको छु । म कतार गएको कुरा त एउटा निमित्त कारण वा सन्दर्भजस्तो मात्रै भयो ।
नेपालमा युवाहरुको ठूलो शक्ति अहिले विदेशमा छ । गल्फ कन्ट्रीहरुमा मात्रै २५ लाख हाराहारीमा पुगेको देखिन्छ । कतारमा पाँच लाख छन् । साउदी अरबमा ७/८ लाख छन् । दुबई लगायत सबैतिर हेर्नुभयो भने २५ लाख युवाहरु त्यहाँ छन् । मलेसिया, युरोप र अन्य मुलुकतिर हेर्‍यो भने ५० लाखको हाराहारीमा युवाहरुको सक्रिय जनशक्ति विदेशमा छ । यो जनशक्तिलाई सम्वोधन नगरिकन अब नेपालको राजनीतिका परिवर्तन, नेपालको आर्थिक जीवन र अर्थतन्त्रको कल्पना गर्न नसकिने भइसक्यो । त्यसकारण यसलाई विदेशमा रहेका केही नेपालीहरुको काम भनेर हल्कारुपमा लिन हुने स्थिति छैन ।गल्फ कन्ट्रीको स्थिति युरोप, अमेरिका वा क्यानडाको जस्तो होइन । अमेरिका, क्यानडा जाने नेपालीहरु गि्रनकार्ड लिने, उतै बस्ने र घरजम गर्नेतिर जान्छन् । गल्फ कन्ट्रीमा दुई वर्षको भिसा हुन्छ, उनीहरु फर्किएर आउनैपर्छ । अस्ति कतारमा मार्मिक ढंगले नेपालीहरुले भने, आम्रो त यहाँ लास राख्ने ठाउँपनि छैन, उहीँ नेपालमै लानैपर्छ । भनेपछि उनीहरु विशद्ध नेपाली नै हुन् । एनआरएन भन्न मिल्नेखालको पनि छैन उनीहरुको स्थिति । उनीहरु वहीँ घर बनाएर बस्ने स्थितिमै छैनन् ।भनेपछि यी २५ लाख युवाहरुलाई राम्रोसँग नहेरिकन, उनीहरुको समस्या र दुःख पीडालाई सम्वोधन नगरिकन अब नेपालमा राजनीतिक र आर्थिक सम्वृद्धिको कल्पना कसैले भन्छ भने त्यो भ्रममात्रै हुन्छ ।अहिले म कतार जाँदा अझ नजिकबाट गल्फ कन्ट्रीहरुमा रहेका नेपालीहरुको समस्या, त्यहाँको पीडा समान किसिमको छ र त्यसलाई कुनै पनि राजनीतिक नेतृत्वले गम्भीर ढंगले लियो भने २५ लाख नेपालीको साझा समस्यालाई सम्वोधन गरिएको हुँदोहरेछ । मेरा लागि यो सिक्ने अवसर पनि भयो । त्यहाँ रहेका नेपालीहरुको दुःख कष्ट कस्तो रहेछ भन्ने पनि र त्यहाँको सरकारले कसरी लिँदोरहेछ भन्ने पनि सिक्ने अवसर भयो ।
सुरुमा मेरो कार्यक्रम सुनिश्चित भैसकेको थिएन । पछि कतारका प्रधानमन्त्री, विदेशमन्त्री र श्रम मन्त्रीसँग भेट भयो र समग्रमा कुराकानी भयो । मैले नेपालीहरुको सुरक्षाका विषयमा कुरा गरें । ठूलो संख्यामा कोही दुर्घटनामा त कोही हृदयाघात भएर बित्ने गरेको हँदा उनीहरुको सुरक्षा र सुविधाको विषयमा नै बढी फोकस गरेर मैले कुरा गरें । त्यो म्यासेज पनि गयो ।
गहिरो अनुभूतिको अर्को पाटो
मलाई अर्को बडो गहिरो अनुभूतिको पाटो के भयो भने हिजो जनमुक्ति सेनाका धेरै कमान्डर र योद्धाहरु त्यहाँ होटलमा रहेछन् । शहिद परिवार, बेपत्ता योद्धाका परिवारका सदस्यहरु विभिन्न होटलमा, कन्स्ट्रक्सन साइटहरुमा धेरै देखिए ।
जहाँ म बसेको थिएँ, त्यही होटलमा एकजना गोरखाका सहीद परिवारका सदस्य बडो इमान्दार सोझो युवा हुनुहुँदोरहेछ । मलाई भेट्न आउनुभयो ।
उहाँले भन्नुभयो, म सहीद परिवार पनि हो, हिजो युद्धमा सहभागी भएको योद्धा पनि हो । उहाँले मलाई नै के भन्नुभयो भने कामरेड, तपाईहरु यताउता नधर्मराउनुहोला, हामी छौं । अहिले चुनाव हारियो भन्दैमा मिसन नछोड्नुहोला । हामी फेरि जरुरी पर्छ भने हामी ज्यान दिन आउँछौं ।
यसरी त्यहाँ गएर पनि दिमागमा नेपाली क्रान्ति र नेपालको परिवर्तनप्रति त्याग तपस्या र बलिदानकै चिन्ता त्यहाँ छ भन्ने मलाई गहिरो अनुभूति पनि भयो । त्यसकारण नेपालको राजनीतिक नेतृत्वले अब गल्फ कन्ट्रीमा गएका र विश्वभरि छरिएका नेपालीहरुको हित र उनीहरुको सुरक्षा, सुविधा र उनीहरुले नेपालमा संस्थागत ढंगले गर्न सक्ने योगदानलाई ध्यान नदिइकन अब नेपालको राजनीति चल्दैन भन्ने शिक्षा लिएर आएको छु

0 comments

Write Down Your Responses

Powered by Blogger.