सुरक्षाकर्मीको मृगौला परिक्षण

भगवती पाण्डे बुटवल, फागुन ३० 
सधैजसो सर्वसाधारणको सुरक्षामा खटिईरहने बुटवलका सुरक्षाकर्मीहरु शुक्रवार बिहान भने ईलाका प्रहरी
कार्यालय बुटवल परिसरमा रगत तथा पिसाब परिक्षाणको लागि लामबद्ध लागेका थिए।
 कोहि रगत तथा पिसाब परिक्षणको लागि लामबद्ध लागेर आफ्नो नाम लेखाउँदै थिए भने कोहि रगत दिन व्यस्त थिए। 
 त्यहाँ रहेका स्वास्थ्यकर्मिहरुले लामबद्ध सुरक्षाकर्मिहरुको पालैपालो रगत लिँदै पिसाब संकलनको लागि हातमा फाईल दिएर पठाईरहेका थिए। 
 यत्तिकैमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक विक्रम सिंह थापा पनि रगत संकलन गरिरहेको स्थानमा पुगी रगत दिए। 
 “सवारी साधनलाई त निश्चित दुरी चलाएपछि त्यसका पाटपूर्जा ठिक भएनभएको हेरिन्छ, सर्भिसिङ गरिन्छ, हामी त मानिस हौं मानिसका पनि शरीरका पाटपूर्जा ठीक छन् कि छैनन् भनेर समयसमयमा चेकजाँच गर्नुपर्छ। त्यसैले म पनि मृगौलाको अवस्था कस्तो छ भन्ने थाहा पाउन रगत र पिसाब परिक्षण गराउन आएको।” उनले हास्दै भने। 
 प्रहरी उपरिक्षक थापासँगै पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक सुशीलकुमार यादव, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक दिनेश आचार्य पनि थिए। प्रहरी उपरिक्षक यादव र आचार्यले पनि परिक्षणको लागि रगत र पिसाबको नमूना दिए। 
 थापा, यादव र आचार्य सहित ईलाका प्रहरी कार्यालय बुटवल र पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी जवानदेखि प्रहरी उपरिक्षक सम्म १ सय भन्दा बढि सुरक्षाकर्मीहरुले शुक्रवार एकैपटक मृगौला परिक्षण गराउने अवसर पाएका हुन्। 
 यस्तो निःशुल्क अवसर भने विश्व मृगौला दिवशको अवसर पारेर लायन्स क्लब अफ बुटवल लुम्बिनीले जुराईदिएको थियो। क्लबले बुटवलकै नेशनल ल्याबसँगको सहयोगमा रगतमा सुगर र क्रियटिनीन् तथा पिसाबमा आर ई परिक्षणको लागि निशुल्क व्यवस्था गरेको थियो।
 प्रहरी उपरिक्षक थापाले कुनैपनि व्यक्ति शारीरिक रुपमा तन्दुरुस्त नहुँदासम्म कुनैपनि काम गर्न मानसिक रुपमा तयार हुन नसक्ने भएकोले पहिले शारीरिक रुपमा तन्दुरुस्त हुन जरुरी रहेको बताए। 
 धेरैजसो रोगहरु धुमपान तथा लागुपदार्थको सेवनबाट लाग्ने गरेका छन्। लागुपदार्थले मानिसको शरिरलाई मात्र होईन समाजलाई पनि विकृत र रोगी बनाएको छ। त्यसैले शरिर र समाज दुवैलाई स्वस्थ राख्न लागुपदार्थको सेवन नगर्न सबैलाई आग्रह गरे।
 प्रहरी नायब निरिक्षक नवराज पोखरेलले पहिलो पटक मृगौला परिक्षण गरेको बताए। 
 “४० वर्ष उमेर नाघेकाहरुलाई मृगौला रोग लाग्ने बढि जोखिम हुन्छ रे। अब त म पनि ४० वर्षको सेरोफेरोमा पुग्न थाले। प्रहरीको ड्यूटी, न हो धुवां धुलो संगै फिल्डमा खटिनुपर्ने त्यसमा पनि कहिलेकाहि त समयमा पानी समेत पिउन पाईदैन। रोग नलागेसम्म स्वास्थ्य परिक्षण नगर्ने हामी नेपालीहरुको बानी नै त्यस्तै छ। तर आज त मृगौला परिक्षणको लागि अवसर मिल्यो।” पोखरेलले बताए।
 पोखरेल जस्तै शिवीरमा सहभागि अधिकांश सुरक्षाकर्मीहरुले पहिलो पटक मृगौला परिक्षण गरेको बताए।  
 क्लबका अध्यक्ष यम पुनले दिनरात, घामपानी, जाडो, चाडपर्व केहि नभनी सधै हामीहरुको सुरक्षामा खटिरहने सुरक्षाकर्मिहरुलाई आफ्नो स्वास्थ्यप्रति आंखा खोलीदिन यसप्रकारको कार्यक्रम आयोजना गरिएको बताए। “मृगौला रोग अत्यन्त गम्भीर मात्र होईन यो धेरै महंगो रोग पनि हो। मृगौला रोग लागेपछि त्यसको उपचार गर्ने अधिकांश नेपालीहरुको क्षमता नै हुंदैन। त्यसैले रोग लागिसकेपछि पछुताउनु भन्दा बेलैमा त्यसतर्फ सजग हुनु बुद्धिमानी हुन्छ।” उनले भने।  
 मृगौला सम्बन्धि कुनै खराबी भए रगतमा क्रियटिनीन् र पिसाबको आर ई परिक्षणबाट थाहा हुने लुम्बिनी अञ्चल अस्पतालका जनरल फिजिसियन डा. ज्ञानहरी मरासिनी बताउंछन्। 
 अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. तारा प्रसाद पौडेलले मृगौला रोग साईलेन्ट किलर भएको बताए। 
 “यो लागेपछि पनि शुरुमा केहि लक्षण देखिदैन। जब रोग अन्तिम चरणमा पुगेको हुन्छ अनिमात्र यसका लक्षणहरु देखिन्छन्। त्यसैले पनि हरेक वर्ष ६ महिनामा रगत र पिसाब जांच गराउन आग्रह गरे। 
 उच्च रक्तचाप, मधुमेह तथा पिसाबमा खराबी हुने व्यक्तिहरुलाई मृगौला रोग हुने बढि सम्भावना हुने भएकोले प्रशस्त पानी पिउन, धुमपान तथा लागु पदार्थ सेवन नगर्न, खानपानमा ध्यान दिन र नियमित व्यायाम गर्न सके मृगौला रोग लाग्नबाट जोगिन सकिने चिकित्सकहरु बताउंछन्। 
 मृगौलाले रगतमा भएको विकार बस्तुलाई शुद्धिकरण गरी पिसाबको माध्यमबाट शरिर बाहिर फाल्ने गर्दछ। 
 ४० वर्ष नाघेपछि मृगौलाको शुद्धीकरण गर्ने क्षताता पनि घट्दै जाने भएकोले बढ्दो उमेरसंगै मृगौलालाई पनि विशेष हेरचाह गर्न चिकित्सकहरुको सुझाव छ। 
 मृगौला फेल भइसकेपछि शरीरका विभिन्न भाग सुन्निने, थकान महसुस हुने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, पिसाबमा रगत देखिने, फिंज आउने, कम पिसाब आउने जस्ता लक्षण देखिन्छन्। 
 सरकारले मृगौला रोगको उपचारका लागि विपन्न नागरिकलाई डायलासिस निशुल्क र प्रत्यारोपण्ँमा १ लाख रुपैयासम्म अनुदान दिने गरेको जनाएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.