काम गर्न अस्पताल हिँडेका चिकित्सा विद्यार्थी दुई सातादेखि बेपत्ता
चितवनको भरतपुर अस्पतालमा काम गर्न हिँडेका पूर्वी चितवन चैनपुर–२, ज्यामिरे निवासी स्वास्थ्य सहायक(एचए)का विद्यार्थी बेपत्ता भएका छन्।
स्थानीय १७ वर्षका कमल भुसाल हराएको दुई साता बित्दासमेत उनको अवस्था पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घरबाट भरतपुर अस्पतालमा प्रयोगात्मक ड्युटीमा हिँडेका उनी बेपत्ता भएको प्रहरीले जनाएको छ।
चितवनका प्रहरी निरीक्षक जीवलाल चुदालीले उनको खोजी जारी राखेको भए पनि अझै फेला पार्न नसकिएको बताए ।फागुन ४ गते घरबाट ड्युटी गर्न भनि हिँडेको भए पनि अस्पतालमा साथीले उनलाई नदेखेको जानकारी आएको प्रहरीले जनाएको छ। साँझ घरमा आमालाई फोन गरेर साथी कहाँ बस्ने जनाए पनि ५ गतेदेखि बेखबर भएको परिवारलाई उद्धृत गर्दै चितवनका प्रहरी निरीक्षक जीवलाल चुदालीले बताए ।चैनपुर ज्यामिरेका स्थानीय कमल भुसाल भरतपुर अस्पताल नजिकै एचए तेस्रो वर्षमा अध्ययनरत थिए। उनी अस्पतालमा प्रयोगात्मक काम गर्न आउने क्रममा बेपत्ता भएका हुन्।पातलो शरीर, गहुँगोरो र पाँच फिट उचाइका भुसालले खरानी रङ्गको पाइन्ट लगाएका थिए। उनले कानमा सुनको मुन्द्रासमेत लगाएको परिवारले जनाएका छन्।
उनका आफन्त कुलप्रसाद भुसालले घरमा कुनै समस्या नभएको बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनमा कमलका परिवारले निवेदन दिए पनि हालसम्म फेला पार्न सकिएको छैन। उक्त हुलियाका व्यक्ति देखिएमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन प्रहरीले आग्रह गरेको छ। रासस
0 comments
Write Down Your Responses