पर्सामा बोक्सीको आरोपमा महिलामाथि कुटपिट

पर्सा, २८ फागुन । बोक्सीको आरोप लगाउँदै पर्सामा एक महिलामाथि कुटपिट भएको छ । पर्साको लखनपुर गाविस–९ एक्डर्वा गाँउ निवासी ५० वर्षीया छोटियादेवी सहनीलाई मंगलबार राति उनका छिमेकीहरूले कुटपिट गरी घाइते बनाएका हुन् ।
छोटियादेवीलाई उनका छिमेकी मिरगुल सहनी, उनका श्रीमती र छोराहरू विनय सहनी र अजय सहनीले कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
आफ्नो नवजात छोरालाई टुनामुना गरी मारेको भन्दै मिरगुल सहनी र उनका परिवारले छोटियादेवीलाई कुटपिट गरी घाइते बनाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनएको छ ।
कुटाईबाट घाइते भएकी छोटियादेवीलाई उपचारका लागि वीरगन्जको नेसनल मेडिकल कलेजमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।कुटपिट गर्ने सहनी परिवार घर छाडी फरार भएका छन् भने सो विषयमा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरियाले आज बिहान दुईजनालाई नियन्त्रणमा लिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.