सात तलाबाट हामफालेर आत्महत्या
काठमाडौं, २२ फागुन
‘म यो क्लास सकेपछि हामफाल्छु यहाँबाट कसम ।’ एमबिबिएसको तयारी कक्षामा बेन्चमा सँगै रहेकी साथी समीक्षा निरौलालाई निरभराज शर्माले यस्तो चिट दिए । सधैँ रमाइलो गर्ने स्वभाव भएका शर्माको त्यो चिटलाई निरौलाले ठट्टाकै रूपमा लिइन् । तर, अन्य दिनजस्तो शर्माले ठट्टा गरेनन्, त्यही चिट सुसाइड नोट बन्न पुग्यो । क्लास सकिएलगत्तै उनले सात तलामाथिबाट हामफाली आत्महत्या गरे ।
डाक्टर बन्ने सपनासहित पुतलीसडकस्थित नेम इन्स्टिच्युटमा एमबिबिएसको तयारी कक्षा लिइरहेका १८ वर्षीय शर्माले बिहीबार यसरी आत्महत्या गरेका हुन् । प्राय: रमाइलो गफ गर्ने शर्माले बिहीबार पनि जोक गरेको भन्दै साथीहरूले गम्भीर रूपमा लिएनन् । तर, कक्षा सकिएलगत्तै झ्यालबाट बरन्डामा झरी सात तलामाथिबाट हामफाली सबैलाई स्तब्ध बनाए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।पढाइमा तीक्ष्ण रहेका शर्माले के कारणले त्यसरी हामफालेर आत्महत्या गरे भन्ने खुल्न सकेको छैन । उनी नेम इन्स्टिच्युटको सात तलामाथिबाट क्रियटिभ ड्राइभिङ स्कुलको ट्रायल सिकाउने ग्राउन्डमा हामफालेका थिए । प्रेम सम्बन्धका कारण शर्माले आत्महत्या गरेको आशंका गरिए पनि कारण खुल्न नसकेको महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी होविन्द्र बोगटीले बताए । मृतक शर्माका साथीहरूका अनुसार कक्षा चलिरहेकै वेला आफूलाई गर्मी भएको भन्दै उनले झ्याल खोल्न आग्रह गरेका थिए । त्यसपछि उनले ज्याकेट र सर्टको समेत टाँक खोलेका थिए ।
कक्षा सकिएलगत्तै झ्यालबाट बरन्डामा हामफालेर त्यहाँ रहेको रेलिङमा चढेर शर्मा करिब ११ बजे हामफालेका हुन् । साथीहरूका अनुसार उनले अरूलाई रोक्नसमेत नभ्याउने गरी बरन्डामा पुगेर हामफालेका थिए ।शर्मा उपसचिव भरतराज शर्माका छोरा हुन् । स्याङ्जाको सेतीदोभान स्थायी घर भएका उनीहरू बल्खुमा बस्दै आएका थिए । उनको मृत्युबाट शर्माको परिवार विक्षिप्त बनेको छ ।
तयारी कक्षाको क्रममा पनि इन्स्टिच्युटले लिने परीक्षामा उनी सधैँ प्रथम हुने गरेका थिए । हालै मात्र उनले पुरस्कारसमेत जितेका थिए । शर्माकी साथी निरौलाले प्रहरीलाई बताएअनुसार उनले आफ्नी एक गर्लफ्रेन्ड रहेको बताएका थिए ।
भक्तपुरको घटना रहस्यमय
झक्तपुरमा मृतक अवस्थामा भेटिएका एकै परिवारका तीनमध्ये दुईको हत्या र एकको आत्महत्या भएको पोस्टमार्टम रिपोर्टले औँल्याएको छ । डिभी परेर अमेरिका जानका लागि अन्तर्वार्ता दिन काठमाडौं आएका सर्लाही हरिवनका श्यामध्वज महत, उनकी श्रीमती सुनिता र छोरी नानुको शव १६ फागुनमा फेलापरेको थियो प्रारम्भिक अनुसन्धानपछि श्यामध्वजले नै श्रीमती र छोरीको घाँटी थिची हत्या गरी आफूले झुन्डिएर आत्महत्या गरेको भक्तपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टले पनि श्यामध्वजको आत्महत्या र अन्य दुईको हत्या गरिएको आधार दिएको छ । तर, पोस्टमार्टम रिपोर्ट शुक्रबार मात्र आउने भक्तपुर प्रहरीले जनाएको छ । ‘हत्यापछि आत्महत्या नै रहेछ भने पनि हामी कारण पत्ता लगाउँछौँ,’ एसपी श्रेष्ठले भने ।
सर्लाही नै बस्दै आएका उनीहरू अमेरिकन दूतावासमा अन्तर्वार्ता दिन काठमाडौं आएका थिए । ठिमीस्थित ससुराली घरमा उनीहरू बसेका थिए । खुसियालीका साथ बेलुका सुतेकोमा बिहान तीनैजनाको शव भेटिएको थियो । सबै गहना तथा पैसा यथास्थानमा रहेकाले बाहिरी मान्छेले हत्या गरेको आधार पनि नभेटिएको भक्तपुर प्रहरीका अधिकारीहरू बताउँछन् ।
0 comments
Write Down Your Responses