सिराहाको औरहीमा अग्निपीडितको मुट्ठी बचत

सिराहा, ४ वैशाख । गाउँमा करिब तीन वर्षअघि भएको भीषण आगलागीमा खान, बस्न पनि चरम संकट झेल्नु परेपछि त्यसको पूर्व तयारीस्वरुप सिराहाको दक्षिणी क्षेत्रमा पर्ने औरही गाउँका बासिन्दाले मुट्ठी बचत संकलन कार्यक्रमलाई गाउँव्यापी बनाएका छन् ।आगलागीपछि झेल्नुपर्ने संकट आउन नदिन स्थानीय
बासिन्दाले मुट्ठी बचत सङ्कलनलाई निरन्तरता दिएका हुन् । गाउँका किसानले बाली भित्र्याउने समयमा सञ्चालन गरिएको अभियानमा करिब तीन क्विन्टल धान, गहुँ जम्मा गरी बेचबिखन गरेर पाँच हजार ६ सय सदरमुकाम सिरहास्थित कृषि विकास बैंकमा खाता खोलेर जम्मा गरेको स्थानीय जागेश्वर रजकले जानकारी दिनुभयो ।
प्रकोपको पूर्वतयारीस्वरुप गाउँमा सबेरै खाना पकाउने, स्थानीय निकायसँग समन्वय सहकार्य गर्ने र प्रकोप जोखिम न्यूनीकरणका लागि सचेतीकरण अभियान सञ्चालन गरिरहेको स्थानीय सीतादेवी यादवले जानकारी दिनुभयो ।
समितिमार्फत हरेक दिन बिहान ९ बजेभित्र र राति ८ बजेपछि खाना पकाउने, खाना पकाउँदा चुल्हो छेउमै कम्तीमा एक बाल्टिन पानी राख्ने, प्रकोप पीडितहरुको सहयोगार्थ हरेक पल्ट खाना पकाउँदा एक मुट्ठी चामल बचत गरेर समितिमा जम्मा गर्ने गरिएको डिहीबारनी प्रकोप न्यूनीकरण समितिका अध्यक्ष कलेश्वर यादवले बताउनुभयो ।
एक्सन एड नेपालको सहयोगमा दलित जनकल्याण युवा क्लब लहानमार्फत हस्तान्तरण गरिएको मुट्ठी बचत ड्रममा अग्निपीडित वडामा गठन गरिएको प्रकोप व्यवस्थापन समितिले बिहान बेलुका भात पकाउँदा घर घरबाट एक÷एक मुट्ठीको दरले जम्मा गरिएको चामल जम्मा गरी साप्ताहिक बैठकमा कोषमा दाखिला गरिरहेको डिहीबारनी प्रकोप व्यवस्थापन समितिकी कोषाध्यक्ष वीणादेवी महतोले बताउनुभयो ।
स्थानीय सरस्वती यादवका अनुसार गाउँका हरेक परिवारले समितिले बनाएको नियमलाई पालना गरिरहेका छन् । आगलागीपछि क्लबले पाँचवटा वडामा गठन गरिएका प्रकोप व्यवस्थापन समितिका लागि प्रकोप जोखिम न्यूनीकरणका लागि विभिन्न तालिम सञ्चालन गर्नुका साथै प्राथमिक उपचार बाकस, प्रकोपमा प्रयोग गरिने सामग्री तथा मुट्ठी बचत गर्ने बाकस सहयोग गरेको छ ।
स्थानीय भरत साहले गाउँमा भएको भीषण आगलागीपछि पुनःस्थापित हुन र प्रकोपको जोखिम न्यूनीकरण गर्न स्थानीय बासिन्दाले गरिरहेको प्रयासलाई क्लबको सहयोगले सबल बनाएको बताउनुभयो । आगलागीमा खण्डहर भएको औरही गाउँमा समितिले प्रकोप जोखिम न्यूनीकरण गर्न थालेको मुट्ठी बचतको रकमले अग्निपीडितलाई समितिको निर्णयअनुरुप निश्चित समयका लागि न्यून ब्याजमा आयआर्जनमूलक कामका लागि लगानी गरिने उहाँले उल्लेख गर्नुभयो ।
विसं २०६८ जेठ २ गते भएको भीषण आगलागीमा भोग्नु परेको नियति फेरि भोग्नु नपरोस् भन्ने उद्देश्यले औरहीको आगलागी प्रभावित वडा नं ३, ४, ५, ६ र ७ मा प्रकोप व्यवस्थापन समिति गठन गरिएको हो । तीन वर्षअघि भएको भीषण आगलागीमा औरहीका ती वडाका ४६१ घरधुरीका तीन हजारभन्दा बढी घर जलेको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.