मादीको सुरुङमा पुरिएका २ को शव फेला, मृतकको संख्या तीन

सागर राज तिमिल्सिना पोखरा, वैशाख १४ 
कास्कीको सिल्दुजुरेमा निर्माणाधिन माथिल्लो मादी जलबिद्युत आयोजनाको सुरुङमार्गमा गएको पहिरोमा परि बेपत्ता २ मजदुरको शव भेटिएको छ। यो सँगै पहिरामा परि मृत्यु हुनेको संख्या ३ पुगेको छ। उदयपुर
चौदण्डीका अर्जुन तामाङ र नागेन्द्र तामाङ्गको आज दिउँसो शव भेटिएको कास्की प्रहरीले जनाएको छ। उनीहरुलाई शुक्रबार पहिरोले पुरेको थियो। आयोजनाका सुपरभाइजर गंगादत्त सापकोटाका अनुसार दिउँसो सवा १२ बजे र साढे २ बजे दुवैको शव भेटिएको हो। यस अघि शनिबार साँझ पहिरोमा परेका एक्साभेटर चालक तनहुँका सुजन गुरुङ्गको शव भेटिएको थियो। शुक्रवार दिउसो साढे एक बजे माथिबाट झरेको पहिरोले सुरुङ अवरुद्ध १६ मजदुर मध्य सुरुङ भित्र फसेका १३ जनाको शनिबार बिहान १४ घण्टा पछि सकुशल उद्धार गरिएको थियो। कास्की प्रहरी प्रमुख एसपी वसन्तकुमार लामाका अनुसार उनीहरुलाई पहिरो खसेको स्थानको नजिकै सानो प्वाल बनाएर निकालिएको हो।
 सुरुङ्ग प्रवेशद्धारमा करिब एक सय मिटर माथिबाट पहिरो खसेको थियो। ठूलो ढुङ्गा सहितको पहिरोले सुरुङ्ग सुरक्षार्थ बनाइएको फलामे रड भाँचेर प्रवेशद्धार भन्दा करिब १५ मिटर पर सुरुङ अवरुद्ध बनाए पछि त्यँहा कार्यरत मजदुरहरु फसेका थिए। आयोजना स्थलमा पहिरो गए लगत्तै डोजर, स्काभेटर, नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी र स्थानियबासी उद्धार कार्यमा जुटेका थिए। 

0 comments

Write Down Your Responses

Powered by Blogger.