पतिबाटै जलाइएकी ज्योति उपचार अभावमा छट्पटाउँदै
कक्षा १२ पढ्दापढ्दै तोपगाछी ८ क्याम्पाकी ज्योति हरिजनको मागी विवाह भयो । चकचकी २ का राजन
हरिजनसँग विवाह गरेकी ज्योतिले २० बर्ष उमेर काट्न नपाउँदै छोरी खुश्वुलाई जन्माइन् । विवाहदेखि नै पति राजनसँग सम्बन्ध उति दरिलो बन्न सकिरहेको थिएन । ज्योतिका माइतीपक्षले आफुलाई चित्तबुझ्दो दाइजो नदिएको भन्दै असन्तुष्ट रहेका राजन ससुरालीकै आडभरोसामा केर्खामा बस्दै आएका थिए ।
छोरीलाई जन्म दिएपछि आफ्नै माइतीपक्षको साथ सहयोगमा केर्खामा डेरा लिएर बसेका राजन र ज्योतिको बीचमा खटपटी झनै बढेर गयो । ज्योति भन्छिन्, ‘मेरो पहिलो कोखमा छोरी बस्नु नै मेरा लागि अभिशाप जस्तै बनेको छ ।’ सुत्केरी भएको ५० दिन कट्दा नकट्दै राजनले कम्ती दाइजो र छोरी जन्माएको दुवै रिस एकैपटक पोखे । त्यो रिसले झण्डै झण्डै ज्योतिलाई मृत्युको मुखमा पुर्यायो । तीन बर्षअघि असार १९ गतेको त्यो घटनाको दिन ज्योतिले चाहेर पनि कहिल्यै भुल्न सकेकी छैनन् । मट्टीतेल जिउमा छर्किएर आफ्नै पति राजनले आफ्नो शरीरमा सल्काइदिएको आगो अरु कसैले नदेख्दो हो त २० बर्षमै आमा बनेकी ज्योतिले अहिलेसम्म बाँच्न पाउने थिइनन् । तर संयोगले उनको शरीरमा जलेको आगो कसैले देखेर निभाइदिए तर ज्योति अर्धचेत अवस्थामा थिइन् । तत्कालै वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्योतिका बुबा मोहन हरिजनले गाउँ छरछिमेक र फराकिलो मन भएका केही साथीभाइको सहयोगमा छोरी ज्योतिको उपचार गराउन शुरु गरे तर अस्पतालमा चाहिने जति पैसाको बन्दोबस्त हुन नसक्दा अस्पतालले पनि उपचारलाई निरन्तरता दिनुको साटो बिरामीलाई बिदा दियो । ‘मैले बाँच्ने आशै राखेकी थिइनँ’, ज्योतिले भनिन् । पछि एकजना बुद्धि न्यौपाने नाम गरेका व्यक्तिले काठमाडौंको सुष्मा कोइराला ट्रस्टसम्म पुर्याएर उपचारका लागि समन्वय गरिदिएपछि आफूले पुनर्जीवन पाएको बताउँछिन् ज्योति। ‘उहाँ नभएको भए शायद म पनि बाँच्दिन थिएँ’, ज्योतिले भनिन् । उपचार पाउने ठाउँमा पुगेपछि उनको उपचार त हुँदैछ तर हरेक महिना इन्जेक्सन लगाउन काठमाडौं नै जानुपर्छ । एक पटकमा तीन हजार रुपैयाँ हाराहारीको ओखती उपचार गर्नुपर्छ फेरी महिनैपिच्छे त्यसका लागि काठमाडौं जानैपर्ने बाध्यता । कम्तीमा ७ – ८ हजार रुपैयाँ खर्च हुन्छ ।
0 comments
Write Down Your Responses