झापामा सर्पदंशको उपचारमा प्रयोग हुने औषधिको अभाव

झापा, २४ असार । सर्पदंशको उपचारमा प्रयोग हुने औषधि ‘एन्टी स्नेक भेनम’ को झापामा अभाव भएको छ ।सर्पदंश उपचार केन्द्र चारआलीका स्थानीय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा भट्टराईले औषधिको मौज्दात सकिन लागेकोले थप औषधि नआएमा साउनदेखि उपचारमा कठिनाइ हुने बताउनुभयो । सरकारले स्थानीय
उपचार केन्द्र र अस्पतालमा एन्टी स्नेक भेनम औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
चारआलीमा वर्षमा कम्तीमा ४०० देखि बढीमा ८०० भाइल एन्टी स्नेक भेनम खपत हुने गरेको छ । अहिले चारआली केन्द्रमा १०० भाइलमात्र औषधि रहेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।“हामीले जनस्वास्थ्य कार्यालयलगायतका सरकारी निकायलाई औषधिको अभाव हुनसक्ने बारेमा बारम्बार जानकारी गराइरहेका छौ”, भट्टराईले भन्नुभयो– “उताबाट यो समस्या यहाँमात्रै होइन, देशभरकै हो भन्ने जवाफ आइरहेको छ ।”
अहिले सर्पदंशका बिरामी बढी सङ्ख्यामा आउने मौसम भएको हुँदा १०० भाइल औषधिले एक महिना पनि नथेग्ने देखिएको छ । चारआलीमा असार १९ गतेसम्ममा ३७ र जेठमा ६० भाइल औषधि प्रयोग भएको थियो । विषालु सर्पले डसेको कुनै बिरामीलाई बढीमा ३५ भाइलसम्म औषधि दिनुपर्ने हुन्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.