महिला हत्याको आरोपमा पति र सासू थुनामा

सप्तरी ७ साउन । सप्तरीको पंसेरा ५ की २५ वर्षकी नगिना साहको हत्याको आरोपमा मृतकका पति र सासूलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले हत्याका आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएबमोजिम
राजविराज कारागारमा पठाइएको छ । घाँटी र शरीरको विभिन्न भागमा चोटपटकको नीलडाम लागेको अवस्थामा पीडितको लास उनको घरमा गत असार ८ गते बिहान फेला परेको थियो । पीडित र आरोपितबीच केही दिनयता बारम्बार झगडा हुने गरेको र गत असार ७ गते राति पुनः कुटपिट भएको गाउँलेले बताएका थिए । गाउँलेका अनुसार झगडापछि घरबाट चोकतिर भागेकी पीडितलाई समातेर आरोपितले घरभित्र लगी घाँटी थिचेर हत्या गरेका थिए । हत्याको आरोपमा आरोपितलाई प्रहरीले अनुसन्धानका लागि गत असार ८ गते घरबाट पक्राउ गरेको थियो । पीडितका बुबा धनुषा जनकपुर नपा(१० का बिमलकिशोर साहले इलाका प्रहरी कार्यालय कल्याणपुरमा आरोपितविरुद्ध गत असार ११ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेका थिए । सामाजिक परम्पराअनुसार पीडितको आरोपित शत्रुघनसँग २०७० असारमा विवाह भएको थियो ।
0 comments
Write Down Your Responses