असुरक्षित भान्छाको सिकार बन्दैछन् महिला

झापा, २५ असार । आँखा पोल्ने पिरो धुवाँले डम्म साँघुरो कोठा । माटोको एकमुखे चुल्होमा आँखा मिच्दै दाउराका झिक्रा र काठको धुलो घरिघरि हालेर बिहान बेलुका नौजनाको परिवारलाई खाना पकाउनुपर्ने बाध्यताले भद्रपुर–२ की दुख्नी राजवंशीको स्वास्थ्य दिन प्रतिदिन बिगरदै गएको छ ।
“श्वास फेर्न निकै गाह्रो हुन्छ”–एक दशकयता दम रोगबाट ग्रसित ३१ वर्षीया दुख्नी भन्नुहुन्छ–“सानैदेखि
यसरी नै भान्छामा काम गर्दा यो उमेरमै दमको रोगी बन्नुप-यो ।”
संयुक्त परिवार भएका कारण उनको परिवारमा दुई छोराछोरी, श्रीमान्सहित सासू, ससुरा र देवर पनि सँगै बस्छन् । नजिकै रहेको प्लाइउड मिलबाट काठको धुलो किनेर ल्याउने र चुल्हो तताउने उहाँको दैनिकी बर्षौदेखि बदलिएको छैन । आर्थिक विपन्नताले गर्दा राम्रोसँग उपचार पनि गर्न नसकेको उहाँ बताउनुहुन्छ ।
भद्रपुर–१५ की मञ्जु महतको पक्की घरमा व्यवस्थित भान्छा कोठा तयार भएको छ । यसअघि उहाँको छुट्टै व्यवस्थित भान्छा कोठा थिएन । घरकै एउटा साधारण कोठालाई भान्छाको रुपमा प्रयोग गर्दै आउनुभएको थियो ।
अहिले सुधारिएको चुल्हो जडान भएपछि घरभित्रको वातावरण स्वच्छ र सफा भएको छ ।  “सुधारिएको चुल्हो जडान भएपछि निकै सजिलो भएको छ”–दुई वर्षदेखि थाइराइडको समस्या झेलिरहेकी मञ्जु परम्परागत भान्छामा महिलाको स्वास्थ्य जोखिममा पर्ने गरेको बताउँदै भन्नुहुन्छ–“दाउरा बाल्ने चुल्होमा त धुवाँले रिङ्गटा नै लाग्छ ।”
सहरमा एलपी ग्यासको प्रचलन बढे पनि भान्छाको अवस्था त्यति सुधारिएको छैन । सहरी गरिबहरुले अहिले पनि काठको धुलो, दाउरा र गोबरको गुइँठा बाल्ने गरेको पाइन्छ । धुवाँ र धुलोमा गुम्सिएर चुल्होमा धेरै समय बिताउने गरेकै कारण भद्रपुरकी दुख्नी र मञ्जुजस्तै सहरिया महिलालाई विभिन्न रोगले च्याप्ने गरेको छ । उनीहरु खासगरी श्वासप्रश्वाससम्बन्धी समस्याबाट पिरोलिने गरेका छन् ।
नेपाल घरेलु सर्भेक्षण २०१२ का अनुसार ८२.५ प्रतिशत नेपाली घरको भान्सा अझै पनि असुरक्षित छ । सर्भेक्षणले सहरका ४४ प्रतिशत घरमा खाना पकाउन दाउरा प्रयोग गर्छन् भने आधा घरधुरीले मात्र एलपी ग्यास र बाँकीले मट्टितेलको प्रयोग गर्ने देखाएको छ ।
मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पीताम्बर ठाकुर भान्छाकोठाको धुवाँ र सडकबाट उडेर आउने धुलोबाट गृहिणीमा श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या रहेको बताउनुहुन्छ । धुवाँ, धुलो र डढेको तेलको गन्ध नाक र मुखको माध्यमबाट फोक्सोसम्म सिधै पुग्ने बताउँदै डा. ठाकुर भन्नुहुन्छ–“एलपी ग्यासभन्दा दाउरा प्रयोग गर्नेलाई बढी जोखिम हुन्छ ।”
उहाँले भेन्टिलेसन र झ्याल नभएको भान्छा कोठा झन् बढी जोखिमयुक्त रहेको छ । भान्छाबाट निस्कने विषाक्त धुवाँका कारण समान्य रुघाखोकी र एलर्जीदेखि दम, क्रोनिक ब्रोङकाइटिस र क्यान्सरसम्मका खतरनाक रोग निम्तिने खतरा भएको डा. ठाकुर बताउनुहुन्छ ।
उहाँका अनुसार दाउराको धुवाँ, ग्यास र सवारीसाधनबाट निस्कने विषाक्त कार्बनयुक्त धुवाँ र धुलोले स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट सहरी क्षेत्रका गृहिणी महिलाहरु उच्च जोखिममा रहेका छन् ।
मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षणका लागि आएका सर्वसाधारणमध्ये श्वासप्रश्वासका बिरामीको सङ्ख्या पाँचौँ उच्च स्थानमा छ । अस्पतालका मेडिकल रेकर्ड अधिकृत मनोज पोखरेलका अनुसार आर्थिक वर्ष २०६९/७० मा निमोनिया, नवजात शिशुमा देखिने सङ्क्रमण, रुघाखोकी, घाउखटिरा र श्वासप्रश्वासका बिरामीको सङ्ख्याले क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थान लिएको थियो ।
सोही वर्ष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बिरामीको १० प्रमुख कारणमध्ये श्वासप्रश्वास र कलेजोसम्बन्धी रोग सबैभन्दा उच्च रहेको मेडिकल रेकर्ड अधिकृत पोखरेलले जानकारी दिनुभयो । मृत्युको कारणमा श्वासप्रश्वासपछि मुटुरोग दोस्रो र निमोनिया पाँचौँ स्थानमा रहेको अस्पतालको तथ्याङ्कबाट प्रस्ट हुन्छ ।
यस वर्ष पनि अस्पताल आउने अधिकांश बिरामीमा श्वासप्रश्वास, निमोनिया र रुघाखोकीको सङ्क्रमण रहेको अस्पतालको बताइएको छ ।
सुरक्षित र व्यवस्थित भान्छा कोठाले धेरै खालका रोग र दुर्घटनाको जोखिम घटाउने भए तापनि यसबारे कसैले पनि त्यति ध्यान नदिँदा असुरक्षित भान्छाको पहिलो सिकार महिला बन्ने गरेका छन् ।परम्परागत चुल्होमा दाउरा वा गुइँठा बाल्दा निस्कने धुवाँ स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ भने ग्यास चुल्होमा चुहावट वा अन्य कारणले दुर्घटना भएमा त्यसको सिकार गृहिणी नै हुने गर्दछन् । बर्सेनि धेरै महिला धुवाँजन्य रोगबाट मर्ने गर्दछन् भने ग्यास चुल्होको दुर्घटनाबाट पनि निकै महिलाको मृत्यु हुने गरेको छ ।
स्थानीय सामाजिक कार्यकर्ता उषा राजवंशी भान्छाको प्रदूषणबाट हुने असरका बारेमा अधिकांश महिला सचेत नभएको बताउनुहुन्छ । अशिक्षित महिलालाई यसबारे सचेत नगराएसम्म उनीहरुको जीवनस्तरमा सुधार आउन नसक्ने उहाँको भनाइ छ ।
पछिल्लो तथ्याङ्कअनुसार भद्रपुर नगरपालिकामा तीन हजार ८१४ घरधुरीमध्ये २८ प्रतिशतले अझै चुल्होमा काठ र दाउराको प्रयोग गर्दै आएका छन् । यहाँका ५७ प्रतिशत बासिन्दाले मात्र एलपी ग्यास प्रयोग गरेका छन् भने अझै पनि गोबरको गुइँठा बालेर भान्छा चलाउनेको जनसङ्ख्या १३ प्रतिशत रहेको छ । बिजुलीबाट चार प्रतिशत र मट्टितेल एवम् गोबरग्यासबाट तीन/तीन प्रतिशतले चुल्हो बाल्ने गरेको नगरपालिकाका सामुदायिक अधिकृत प्रमोद श्रेष्ठले जानकारी बताउनुहुन्छ ।
नगरपालिकाका पक्की घरहरुमा केहीले आधुनिक र व्यवस्थित भान्छाको प्रयोग छन् । धुवाँ, धुलो र गन्ध निष्कासनका लागि केही नगरवासीले सुरक्षित भान्छा कोठा तयार पारेका हुन् ।“आफ्नै प्रयासमा भान्छा कोठालाई व्यवस्थित बनाएकी हुँ”–आफ्नो स्वास्थ्य र सुरक्षाका लागि महिला आफैँ सचेत बन्नुपर्ने धारणा व्यक्त गर्दै भद्रपुर–४ की ५० वर्षीया पवित्रा चुँडाल भन्नुहुन्छ–“भान्छा कोठा धुवाँमुक्त भए आधा रोग आफैँ ठीक हुने रहेछ ।”
भद्रपुर नगरपालिकाका इन्जिनियर योगेन्द्र रञ्जितकार नगरभित्र घर निर्माण गर्दा सुरक्षित र व्यवस्थित भान्छाका बारेमा सोच पुर्‍याउने बेला आइसकेको स्वीकार गर्नुहुन्छ । घर निर्माण गर्दा भान्छा कोठामा भेन्टिलेसन र स्वच्छताका बारेमा ध्यान पु-याउने हो महिला तथा बालबालिकाको स्वास्थ्य र सुरक्षामा ठूलो योगदान पुग्ने देखिन्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.