प्रवेशिकामा असफल विद्यालय र शिक्षकमाथि कारबाही सुरू

जिशिकाका अनुसार न्यूनतम ३२ अङ्कभन्दा कम आएका विद्यालयका विषयगत शिक्षकलाई कारबाही र
स्पष्टीकरण सोधिएको हो । नतिजा किन कमजोर रह्यो भनेर जिल्लामा विज्ञान, गणित र अङ्ग्रेजी विषयका शिक्षकलाई कारबाही र सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोध्न थालिएको जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले बताउनुभयो ।
“लगातार विद्यार्थी असफल हुनाका कारणबारे विद्यालयका प्रधानाध्यापक र विषयगत शिक्षकसँग स्पष्टीकरण मागिएको छ, उनीहरूबाट चित्त बुझ्दो जवाफ नआए बढुवा रोक्का, ग्रेड घटुवा र सरुवा गरिने जिशिअ पुरीले भन्नुभयो ।
दुईवटा विद्यालय तीन वर्षदेखि शून्य नतिजामा छन् भने पाँच वटाको दुई वर्षदेखि नतिजा शून्य छ । विद्या सिर्जनात्मक मावि बाँझो र कृष्ण मावि लक्ष्मीपुरले विसं २०६८ देखि एसएलसी परीक्षामा एकजना पनि विद्यार्थी उत्तीर्ण गराउन सकेका छैनन् ।
विष्णु उच्च मावि फुएँतप्पा, राष्ट्रप्रेमी मावि साकफारा, जीवनज्योति मावि इभाङ र मेची मावि श्रीअन्तुले विसं २०६९ सालदेखि दुई वर्षदेखि विद्यार्थी उत्तीर्ण गराउन सकेका छैनन् यी विद्यालयबाट एसएलसी दिने विद्यार्थी विज्ञान, गणित र अङ्ग्रेजी विषयमा अनुत्तीर्ण भएका छन् । पहिलो चरणमा यी सात वटा विद्यालयका प्रधानाध्यापकले विज्ञान, गणित र अङ्ग्रेजी विषयका विषयगत शिक्षकसँग स्पष्टीकरण सोधिएको र समाधानका लागि सबै विद्यालयका अभिभावकसँग छलफल र अन्तक्र्रिया गराइने भएको जिशिअ पुरीले बताउनुभएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कने क्रम बढेपछि शिक्षा कार्यालय अब कानुनी प्रक्रियामा अघि बढेको जिशिअको भनाइ छ । “शिक्षामा लगानीअनुसार प्रतिफल आउनुपर्छ, नत्र के हो वास्तविकता उल्लेख हुनुपर्छ,” जिशिअ पुरीले रासससँग भन्नुभयो –“नतिजा खस्कनुमा विद्यालय, शिक्षक र विद्यार्थी मुख्य दोषी छन् ।’ सातवटा विद्यालयलाई पहिलो चरणमा कारबाही गरेपछि अन्य विद्यालयका विषयगत शिक्षकलाई कारबाहीको दायरामा राखिने भएको छ ।
यस वर्षको एसएलसीमा १४ वटा विद्यालयको नतिजा शून्य आएको छ र जिल्लाको उत्तीर्ण प्रतिशत २३ रहेको छ ।
0 comments
Write Down Your Responses