मोरङ जिल्लाको कर्णाली प्रदेश !

'सुगम' जिल्लाका दुर्गम बासिन्दाको दुःख
ध्रुव भट्टराई
२१ असार, बिराटनर । मोरङ जिल्लालाई सुगम जिल्लाका रुपमा चिनिने गरिन्छ । तर, यही जिल्लाका पहाडी गाविसवासीको पीडा कुनै दुर्गम पहाडी जिल्लाको भन्दा कम छैन भन्ने कुरो कतिपय जिल्लाबासीलाई नै थाहा छैन ।मोरङ जिल्लाको उत्तरी गाविस रमितेखोलामा अहिलेसम्म राज्यले प्रदान गर्ने सेवा सुविधालाई गाविसवासीले अनुभूति गर्न पाएका छैनन् । गाविसभरि अहिलेसम्म सञ्चार, विद्युत र यातायात सुविधा पुग्न सकेको छैन स्थानीयवासीका अनुसार पहाडी भुवनोटले चारैतिर घेरिएको मोरङको रमितेखोला गाविसमा उब्जनीका लागि खेती गर्ने स्थानको अभाव हुँदा बहुसंख्यक गाविसवासीले अन्न किनेर खानुपर्ने बाध्यता छ । धानखेतीका लागि जमिन छैन । यहाँ फल्ने मकै र कोदोले कठिनले तीन महिना टार्न धौ धौ हुन्छ । पेट भर्नका लागि ९ महिना अन्न नकिनी अरु विकल्प छैन । रमितेखोला वडा नम्वर ५ का हर्कजंग राईका अनुसार यहाँका धेरै युवाहरु पछिल्लो समय वैदेशिक रोजगारीमा गएका छन् ।
गाविस सचिव लुकनाथ पोख्रेलका अनुसार रमितेखोला गाविसमा वहुसंख्यक आदिवासी जनजातिको बसोबास छ । जिल्लालाई सुगम भनिए पनि यतिका वर्षसम्म सञ्चार, विद्युत र यातायातले जोड्न नसक्दा आफूहरुलाई मुलुकको दुरदराजको नागरिकको अनुभुति हुने गरेको स्थानीय मनोजकुमार तामाङ बताउँछन् । ‘कुनै समस्या पर्दा यातायातका लागि सडक चाहिने रहेछ । न त यहाँ सडक सुविधा छ, न त बिजुली नै,’ तामाङले दुःख पोखे ।
गाविसभरि एउटा मात्रै मावि छ । स्वास्थ्य सेवाका लागि एउटा मात्रै भए पनि उपस्वास्थ्य चौकी छ । गाविस भरि नै खानेपानीको समस्या छ । गाविस कार्यालयमा वडावासीहरु नै आउँदा दिनभरको समय खचिनुपर्ने बाध्यता छ । २ नम्वर वडामा रहेको गाविस कार्यालयमा वडा नम्वर ५ का वडावासीहरु आउन मात्र पैदल पाँच घण्टा हिँड्नुपर्छ भने र्फकन त्यति नै समय लाग्छ ।
नेकपा एमाले रमितेखोला इकाइ कमिटीका सचिव नरबहादुर राईका अनुसार यातायातको सुविधावाट विमुख भएकाले अन्य वडावासीलाई पनि गाविस कार्यालयमा काम लिएर जान न्युनतम चार घण्टा लाग्छ ।
गाविसलाई छोएर जाने एकमात्र सडक पनि हालसम्म ट्रयाकमात्रै खोलिएको छ । यदि कुनै काम लिएर जिल्ला सदरमुकाम बिराटनगर जानुपर्ने भयो भने उतै बास बस्नेगरी जानुपर्छ 
पोख्रेलका अनुसार मोरङ सदरमुकामबाट रमितेखोला पुग्न दुईवटा मार्ग रहेका छन् जसमा मंगलबारे हुँदै साम्लिङ रमितेखोलादेखि मिक्लाजुङ एउटा मार्ग हो भने अर्को किसानचौक टाँडीदेखि रमितेखोला मिक्लाजुङ जोड्ने अर्को मार्ग रहेको छ । दुबै सडक पूर्णरुपमा सञ्चालनमा आउन सकेका छैनन् ।
सामान्यतः वर्षा हुनेवित्तिकै पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको छ । किसानचौक टाँडीदेखि रमितेखोला हुँदै मिक्लाजुङ जोड्ने सडकमा यातायात सञ्चालनमा रहे पनि रमितेखोला गाविस जोड्नेतर्फको सडक पूर्णरुपमा यातायात सञ्चालन गर्ने सकिने अवस्थामा छैन । जसबा कारण उर्लाबारीदेखि मधुमल्लाको टाँडीसम्म मात्र यातायात सुविधा हाल सञ्चालनमा छ । टाँडीदेखि रमिते खोला गाविस पुग्न पनि करिव ४ घण्टा पैदल हिँड्नुपर्छ ।रमितेका गाविस सचिव पोख्रेल आफू विद्युतीकरणको योजनामा रहेको बताउँछन् । ‘विद्युत नहुदा सञ्चारसमेत नहँुदो रहेछ, त्यसैले आगामी आर्थिक वर्षसम्म गाविस कार्यालय रहेको वडासम्म विद्युत विस्तारका लागि पहल गरिरहेको छु ।’ सचिव पोख्रेलले भने ।गाविस कार्यालयको तथ्याङअनुसार ६ सय १९ घरघुरी रहेको रमिते गाविसमा ३ हजार ६ सय ८६ जनसंख्या रहेको छ । पहाडी इलाका भएकाले रमितेखोला गाविसवासीको मुख्य आम्दानीको स्रोत अम्रिसो हो ।
त्यसो त तराई-मधेस भनेर चिनिने मोरङ जिल्लामा रमितेखोला मात्रै एक्लो दुर्गम गाविस चाँहि होइन । मोरङका पाटीगाउँ, सिंहदेवी, भोगटेनी र वारंगी गाविस पनि यस्तै विकट पहाडी गाविस हुन् । त्यसैगरी याङशिला, केराबारी, लेटाङ र टाँडीलगायतका गाविसका केही वडाहरु पनि पहाडी क्षत्रेमा पर्दछन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.