दाइजोमा दराज र मोटरसाइकल नल्याएको भन्दै नवविवाहिताको हत्या

महोत्तरी, १२ साउन । महोत्तरीको रतौली गाविसमा एक नवविवाहितालाई मोटरसाइकल र गोदरेज दराज दाइजो नपाएपछि पतिसहित आफन्तले मिलेर हत्या गरेको आरोप मृतकका आफन्तले आरोप लगाएका छन्।
गत बिहीबार राति रतौली–६ मा नवविवाहिता मिन्टुदेवी मण्डललाई मोटरसाइकल र गोदरेजका लागि निजका पति रञ्जित मण्डलसहित पाँच जनाले मिलेर मिन्टुको हत्या गरेको मृतकका काका धनुषा जिल्लाको घोडघास–४ बस्ने रामदेव मण्डलले आरोप लगाएका छन्।रामदेवले पत्रकार सम्मेलन गर्दै आफ्नी भतिजी मिन्टुलाई निजका पति रतौली–६ बस्ने रञ्जित मण्डल, ससुरा जिवछ मण्डल, नाम नखुलेको सासू, नन्द र नन्दको पति बनौली दनौली गाविस–१ बस्ने सन्तोष मण्डलसहित मिलेर हत्या गरेको आरोप लगाएका छन्।उनले २०७० साल फागुन २३ गतेका दिन आफ्नी भतिजी मिन्टुको विवाह सामाजिक परम्पराअनुसार रञ्जित मण्डलसँग गरेको र बिहेको केही दिन नबित्दै ज्वाइँ रञ्जितले भतिजी मिन्टुलाई माइत पठाई मोटरसाइकल र गोदरेज मागेर ल्याउ नत्र ज्यान मारिदिन्छु भनेको पत्रकारहरुलाई बताएका छन्।
शुक्रबार बिहान रतौली–६ मा मिन्टुको शव घरको १०० मिटर पश्चिममा रहेको एक आँपको रुखमा झुन्डिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो भने निजको घरमा अन्नपानी, लत्ता कपडा र घरका अन्य सामान छरिएको जस्तो अवस्थामा फेला पारेका थिए।
प्रहरीले यस घटनालाई रहस्यमय भन्दै घटनाबारे गहन अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए।

0 comments

Write Down Your Responses

Powered by Blogger.