मलेसियामा डाकबहादुर राई बेपत्ता, परिवारमा मृत्युको खबर
१९ पुस, काठमाडौं । सोलुखुम्बु देउसाका डाकबहादुर राईकी श्रीमतीलाई शुक्रबार मलेसियाबाट टेलिफोनमा खबर आयो, ‘तपाईका श्रीमान्को दुर्घटनामा परी मृत्यु भएको छ, सोमबार शव लिन काठमाडौं आउनू ।’ दुखद खबर सुनेर डाकबहादुरको परिवार हतास हुँदै आइतबार राजधानी आइपुग्यो । तर, अहिलेसम्म न शवको पत्तो छ, न खबर दिने मान्छेको नै ।
डाकबहादुरका भाइ दुर्गाका अनुसार मलेसियामा दाजुले बोक्ने गरेको ००६०१८७८४०६५६ नम्बरको फोनबाट डाकबहादुरको मृत्युको खबर आएको थियो । श्रीमतीलाई आएको खबरमा तपाईका श्रीमान्को दुर्घटनामा मृत्यु भएको र सोमबार काठमाडौंमा शव आइपुग्ने बताइएको थियो । फोन गर्ने व्यक्तिले आफू डाकबहादुरसँगै काम गर्ने पाँचथरको सागर लिम्बु रहेको र डाकबहादुरको मोवाइलबाट सिमकाई निकालेर परिवारका सदस्यलाई फोन गरेको बताएका थिए ।
मृत्युको खबर आएको टेलिफोनमा सम्पर्क गर्दा फोन स्वीच अफ रहेको जानकारी आउँछ । कुनैबेला भ्वाइस मेलको संकेत आउने गरेको भाइ दूर्गा बताउँछन् । डाकबहादुरबारे मलेसियास्थित नेपाली दूताबासमा सम्पर्क गर्दा सोलु निवासी कसैको पनि मृत्युको खबर नआएको त्यहाँका कर्मचारीले बताएका छन् । डाकबहादुरका भाइ चाँहि उनीहरु विना इजाजत त्यहाँ काम गरिरहेको हुनाले दूतावासमा खबर गर्न डराएको हुनसक्ने बताउँछन् ।
डाकबहादुरलाई ग्वार्कोमा रहेको वेष्ट वे सर्भिसेज प्रालि नामको मेनपावरले मलेसिया पठाएको हो । कार्यालयको टेलिफोनमा सम्पर्क गर्दा बिगि्रएको टोन आउँछ ।
पारिवारिक स्रोतका अनुसार डाकबहादुरको अवस्थाबारे मेन पावर कम्पनीसमेत अनविज्ञ छ । ‘तपाईहरु दुतावासमा निवेदन दिनोस्, हामी पनि बुझ्दै गरौंला ।’- मेनपावरका सञ्चालकको भनाइ उधृत गर्दै दुर्गाले भने । पारिवारिक स्रोतका अनुसार डाकबहादुर दुईवर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका हुन् । श्रीमती र दुई छोराछोरीका बाबु रहेका उनी माघमा घर र्फकने कार्यक्रम थियो ।
0 comments
Write Down Your Responses