मलेसियामा बिदेशी कामदार एक सातादेखी आन्दोलित

क्वालालम्पुर, चैत १ – मलेसियाली सरकारले गएको जनवरीदेखि नयाँ तलबमान र लेबी नीति लागू गरेलगत्तै विभिन्न कम्पनीमा कामदार आन्दोलित भएका हुन। कतै झडपको अवस्था सिर्जना भएको छ। कतिपय कम्पनीमा झन्डै साता लामो आन्दोलनले कामकाज ठप्प छ।

नयाँ तलबमान माग गर्दै भएको आन्दोलनकै क्रममा शुक्रबार मुआरको पारि जामिलमा रहेको एक फर्निचर कम्पनीमा कम्पनीको व्यवस्थापन र कामदारबीच झडप भएको छ। आन्दोलित कामदार र व्यवस्थापनबीच भनाभन भइरहँदा दुई कामदारलाई कम्पनीका सुरक्षागार्डले नियन्त्रण लिन खोजेपछि झगडाले उग्र रूप लिएको त्यहाँ कार्यरत एक नेपालीले बताए।

करिब २ सय कामदार रहेको चुवाङ हेङ नामक उक्त कम्पनीमा भएको झडप साम्य पार्न प्रहरी बोलाउनुपरेको थियो। स्रोतका अनुसार झडपपछि २३ नेपाली पक्राउ परेका छन। पक्राउ परेकाहरू मंगलबार साँझसम्म रिहा भएका छैनन। घटनामा अन्य तीन जना घाइते भएका छन। घाइतेहरूको स्थानीय सुल्तान्ह फतिमाह स्पेसलिस्ट अस्पतालमा उपचार भइरहेको छ।

कामदार पक्षले कम्पनीको झ्यालका सिसा, टेबललगायतका सामानमा क्षति पुर्‍याएको भन्दै घटनापछि भोलिपल्टै कम्पनी पक्षले फोटोसहित दूतावासलाई जानकारी गराएको श्रम सहचारी अमलकिरण ढकालले बताए। समस्या समाधानका लागि यहाँस्थित नेपाली दूतावासका कर्मचारी कृष्णबहादुर विष्ट मंगलबार त्यस कम्पनीमा पुगेका थिए।

यसैबीच तलब सुविधाकै विषयलाई लिएर निलाईस्थित एक धागो उत्पादन हुने कम्पनीमा कार्यरत ४ हजार कामदार आन्दोलित भएका छन। निलाईस्थित रिकोन मलेसिया एसडिन बीएचडी कम्पनीमा कार्यरत ४ हजार विदेशी कामदार गत ५ दिनयता काम ठप्प पारी आन्दोलित छन्। त्यहाँ करिब ४ सय ५० नेपाली कार्यरत छन।

नयाँ तलबमान लागू गर्नुपर्ने लगायतका विभिन्न माग गर्दै उनीहरू गत शुक्रबारदेखि आन्दोलित भएका हुन। दूतावासका श्रम सहचारी ढकालका अनुसार उनीहरूले केही दिनअघि समस्याबारे टेलिफोनमा जानकारी गराएका थिए। त्यसपछि फ्याक्समार्फत निवेदन पठाउन दूतावासले सुझाएको थियो। समस्याबारे दूतावासले मंगलबार पहल थालेको छ। भियतनाम र बंगलादेश दूतावासका साथीहरू पनि त्यहाँ पुगेका छन।

मलेसियाली सरकारले गत जनवरीमा व्यापार घाटा एवं आर्थिक अवस्था कमजोर हुने रोजगारदाता कम्पनीका लागि नयाँ तलबमान कार्यान्वयन गर्न जुनसम्मको समयावधि दिएको थियो। न्यूनतम तलब लागू नगरेको तथा लेबी मनपरी कटौती गरेको भन्दै पछिल्लो समय गुनासो बोकेर दैनिकजसो दूतावास पुग्ने नेपाली बढेको ढकालले बताए।

यस्ता समस्या डेढ महिनायता ह्वात्तै बढेका छन। नयाँ न्यूनतम तलबमानसम्बन्धी नीतिअनुसार लिबुवान, साबाह र सरावक बाहेकका क्षेत्रका हकमा मासिक ९ य रिंगेट लागू गरिएको छ। नयाँ तलब नदिएको र लेबी मनपरी लिएको जस्ता समस्या बढ्दै गएपछि कामदार आन्दोलित हुँदा नेपालीको प्रमुख रोजगार गन्तव्य मलेसिया थप प्रभावित हुँदै गएको छ।

यसैबीच पछिल्लो समय विभिन्न माग राख्दै नेपाली आन्दोलित हुने क्रम बढ्न थालेपछि दूतावासले त्यसप्रति चासो जनाउँदै आन्दोलन नगर्न नेपाली कामदारहरूलाई आग्रह गरेको छ। कार्यवाहक राजदूत लेखनाथ भट्टराईले आन्दोलन समस्या समाधानका लागि उपयुक्त बाटो नभएकाले काममा र्फकन नेपालीलाई आग्रह गरेका छन।


0 comments

Write Down Your Responses

Powered by Blogger.