एक महिलाले चौध महिने छोरीलाई सुसाइट नोट थमाएर कर्णालीमा हाम फलिन् !

प्रहरीका अनुसार सुसाइड नोटमा 'बाबु राम्रोसँग पढ्नु ठूलो मान्छे बन्नु' लेखिएको छ। सुसाइड नोटमा बालिकालाई भेट्ने व्यक्तिले राम्रोसँग पालिदिन समेत उनले आग्रह गरेकी छन्। ती महिलाले सुसाइड नोटमा
मृत्युको कारण कोही नभएर आफू स्वयम् भएको समेत उल्लेख गरेकी छन्।
कैलालीको गेटा गाविस वडा नम्बर ६ की २४ वर्षीया देवीकला सापकोटा भट्टले कर्णाली नदीको पुलबाट हाम फालिन। उनको अवस्था अज्ञात छ। प्रहरी र स्थानीय बासिन्दाले उनको खोजी गरेपनि भेटाउन सकेका छैनन्। प्रत्यक्षदर्शीका अनुसार मंगलबार बिहान ११ बजे उनले पुलबाट हाम फालेकी हुन्। हाम फाल्नु भन्दा करिव आधा घण्टा अघि उनले काठमाण्डौंमा रहेका श्रीमान केशवराज भट्टलाई फोन गरिन्। श्रीमानलाई आफूले कर्णाली नदीमा हाम फालेर आत्महत्या गर्दै गरेको जानकारी दिईन। जुन कुरा उनका श्रीमान भट्टले प्रहरी समक्ष बताएका छन्।
भट्ट गैरसरकारी संस्था वर्ल्ड भिजनमा काम गर्छन्। उनी घटना पछि मंगलबार नै काठमाण्डौंबाट कैलाली चिसापानी पुगेका छन्। बुधबार उनले इलाका प्रहरी कार्यालय लम्कीमा घटना अघिको अवस्थाका बारेमा सबै जानकारी गराएका छन्।
काठमाण्डौं जानु अघि दम्पत्तीबीच सम्बन्ध राम्रै थियो। परिवारका अन्य सदस्यसँग पनि देवीकलाको सम्बन्ध खाशै नराम्रो थिएन।
तर श्रीमान काठमाण्डौं गएपछि उनले श्रीमानमाथि शंका गर्न थालिन जुन कुरा उनले एसएमएस र फोन गरेर व्यक्त गर्थिन। उनले बारम्बार आफू बाँच्न नचाहेको भन्दै एसएमएस पठाउन थालिन। जुन कुराले भट्ट निकै आतंकित बने। उनले श्रीमतीले पठाएका सबै एसएमएसहरु ससुरालाई 'फरवार्ड' गरे। तर त्यसको कुनै सुनुवाई भएन।
केशवराज र देवीकलाको मागी विवाह हो। उनीहरु दुवैका परिवारको सहमतिमा विवाह भएको थियो। उनीहरुको एक मात्रै सन्तान निषा हुन्। जसलाई देवीकलाले कर्णाली पुल किनारामा छोडेर आफूले नदीमा हाम फालिन।
साउन १४ गते राति १० बजेपछि देवीकला एकाएक श्रीमानसँग सम्पर्क बिहिन बनिन्। एकै पटक बिहान १० बजे मात्रै फोन गरेर आत्महत्या गर्ने तयारीमा रहेको जानकारी दिईन।
देवीकलाले हाम फालेको पुलका सुरक्षागार्ड टेकबहादुर सोडारी आफैले देखे। काखमा दुधे बालक बोकेर पुलतर्फ गएकी महिलाले हाम फालेर आत्महत्या गर्लिन भन्ने कुरा उनले ख्याल गरेनन्। देवीकला जस्तै अरु केही व्यक्तिहरु पनि कर्णाली पुलको अवलोकन गरिरहेका थिए। उनले छोरीलाई पुलमा राखेर हाम फाल्दा नजिक कोही थिएन। सुरक्षागार्ड अलि टाढा थिए। बचाउनका लागि दौडदै गर्दा देवीकलाले हाम फालिसकेकी थिईन। उनी नदीमा बेपत्ता भईन। अहिलेसम्म पनि उनको अवस्थाका बारेमा कुनै जानकारी पत्ता लागेको छैन। माइती पक्षले छोरीको लाश मात्रै भएपनि चाहियो भन्दै दवाव दिईरहेका छन्। देवीकलाका श्रीमान केशवराज भट्टले दूधे बालिका छोरी निषालाई जिम्मा लिएका छन्।
0 comments
Write Down Your Responses