वैदेशिक रोजगारीमा गएकालाई पनि मतदानमा सहभागी गराउन माग

काठमाडौँ, १६ साउन । नेपाल सद्भावना पार्टीले वैदेशिक रोजगारीमा गएका युवालाई आगामी संविधानसभाको निर्वाचनमा सोही स्थानबाट मतदान गराउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गरेको छ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई सो पार्टीका तर्फबाट  अध्यक्ष सरीता गिरीले मुलुकको राजनीतिक, सामाजिक एवम् आर्थिक चुनौतीको समाधान तथा सहमतिको वातावरणमा संविधानसभाको निर्वाचन सरकारले गर्नुपर्ने दायित्वसहितका विषय समेटेर आज बुझाउनु भएको ज्ञापनपत्रमा सो कुरा उल्लेख गरिएको छ ।
विदेशी भूमिमा रहेर विप्रेषणमार्फत मुलुकको अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान दिइआएका ४० लाखभन्दा बढी युवाको सहभागिताबिना बन्ने संविधानले स्थायित्व पाउन कठिन हुने भन्दै सो पार्टीले उनीहरूलाई  इन्टरनेटका माध्यमबाट समेत मतदान गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।
फोटोसहितको मतदाता नामावलीमा धेरै नागरिकको नाम अझै समावेश हुन नसकेकाले अरु केही समय प्रदान गर्न, तराईका सशस्त्र समूहसँगको वार्तालाई निरन्तरता दिन, पछिल्लो जनगणनाअनुसार निर्वाचन क्षेत्र कायम गर्न तथा महिला र सीमान्तकृत समुदायको न्यायोचित प्रतिनिधित्वका स्थान सुरक्षित गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।
नेपालको भौगोलिक अवस्था र मौसमका कारण मङ्सिरको निर्वाचन उपयुक्त नभएकाले सहमतिको आधारमा निर्वाचन सार्न र उच्चस्तरीय राजनीतिक संयन्त्र विघटन गर्न पनि माग गरिएको छ ।
महिला हिंसा कसुर सजायसम्बन्धी कानुनमा पीडितलाई सरकारी कोषबाट क्षतिपूर्ति तथा अन्तरिम राहतको व्यवस्था गर्न र पीडकले तिर्नुपर्ने रकम सरकारी कोषमा जम्मा गर्ने व्यवस्था गर्न, हुलाकी राजमार्गलाई गजेन्द्र नारायण सिंह नामकरण गर्न, शिक्षा क्षेत्रमा देखिएको राजनीतीकरण र भ्रष्टाचार तत्काल रोक्न पनि पार्टीले माग गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.