११ हजार भोल्टमा परेका युवकलाई रोजगारीको आश्वासन

लाजिम्पाटको सांग्रिला होटल अगाडि ११ हजार भोल्टको करेन्टमा परी अपांग भएको परिवारलाई उपचार खर्च र राहत दिने आश्वासन विद्युत प्राधिकरणले दिएको छ ।
घाइते भएलगत्तै टिचिङ अस्पतालमा भर्ना भएका रामेछापका ३३ वर्षीय कपिल श्रेष्ठकी श्रीमती शान्ता र भाइ देवेन्द्रलाई बुधबार विद्युत प्राधिकरणले भेटी सम्पूर्ण उपचार खर्च र राहत दिने आश्वासन दिएको हो ।
१२ दिनअघि विजुलीको काम गर्न ३० फिट अग्लो खम्बामा चढ्दा कपिललाई ११ हजार भोल्टको करेन्ट
लागेको थियो । माथिल्लो ११ हजार भोल्टको करेन्ट लागेका कपिल अहिले टिचिङको बर्न वार्डमा थलिएका छन् । उनको देब्रे हात साउन ७ गते कुहिनोभन्दा तल काटिएको थियो । त्यसपछि फेरि समस्या देखिएपछि साउन १५ गते डाक्टरहरूले फेरी कुहिनोभन्दा माथि काटेका छन् ।
विद्युत प्राधिकरणबाट ठेक्का पाएको सृष्टि बिल्डर्सका ठेकेदार घटनालगत्तै देखि बेपत्ता भएपछि पेटी ठेकेदार हरि खड्काले अस्पतालको उपचार खर्च बेहोर्दै आएका थिए । खड्काले पनि अहिले उपचार गर्न नसक्ने कपिल परिवारलाई बताएका थिए ।
यसबारे मुख्यसचिव लीलामणि पौडेलले थाहा पाएपछि आमाको उपचार गर्न दिल्ली पुगेका उनले प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवलाई फोन गरी पीडित परिवारको उपचार खर्च र क्षति बेहोर्न सुझाएका थिए । लगत्तै प्राधिकरणले बुधबार बिहान कपिल परिवारलाई भेटघाटका लागि बोलाएर उपचार खर्च र क्षतिपुर्ति दिने आश्वासन दिएको हो । यसअघि १० दिनपहिले विद्युत प्राधिकरणमा कपिल परिवारले निवेदन दिँदा कुनै सुनुवाइ भएको थिएन । 
‘तपाईँहरूको समस्या के के हुन्, प्राधिकरणले तपाईँको समस्यामा के कसो गर्नुपर्ने हो ?’ प्राधिकरणका जिएम उपेन्द्रदेव भट्टले सोधे, ‘पहिला उपचार सकौं, उहाँको स्वास्थ्य कस्तो सुधार आउँछ त्यसपछि तपाईँको अन्य मागहरू सम्बोधन गरौंला हुँदैन ?’
‘हाम्रो घरमा मुख्य कमाइ गर्ने मान्छे नै उहाँ हो । उहाँलाई नै यस्तो भएपछि गुजारा गर्नै धौधौ हुन्छ हाम्रो घरमा,’ कपिललाई खम्बाबाट झारेर ११ हजार भोल्टको करेन्टबाट जोगाउने भाइ रविन्द्रले भने, ‘हाम्रो क्षमताअनुसार दाइ वा भाउजूलाई रोजगारी गरिदिनु भए हुन्थ्यो ।’
कपिलका भाइ रविन्द्र र श्रीमती शान्ताको यस्तो अनुनय सुनेपछि भट्टले विद्युत प्राधिकरणको नियमअनुसार कपिलको उपचार भइसकेपछि रोजगारीको समेत व्यवस्था गर्ने बताए ।
‘त्यसको लागि पनि हामी सोच्छौं,’ भट्टले भने, ‘तपाईँहरु गाविसको पत्र, नागरिकता, विवाह दर्ता, छोराछोरीको जन्मदर्ता तयार गरेर राख्नुस् ।’
पीडित परिवारले ठेकेदार अमर शाक्य बेपत्ता भएको बताएपछि भट्टले ठेक्काको पैसा भुक्तानी हुन बाँकी भएकाले ठेकेदार भाग्न नसक्ने बताए ।
‘हामीले पैसा भुक्तानी गर्न बाँकी छ, ऊ भाग्न सक्दैन,’ भट्टले भने, ‘बरु तपाईँहरू आफ्नो बिरामीको राम्रो उपचार कहाँ लगेर कसरी गर्नुपर्छ, त्यसलाई ध्यान दिनुस् ।’
टिचिङमा भर्ना भएका कपिलको हातबाहेक दाहिने पैताला र दाहिने हत्केलामा गहिरो चोट लागेको छ । त्यसबाहेक भित्री शरीरमा पनि करेन्टको असर हुनसक्ने तर त्यसको उपचार हात र जिउको घाउ ठिक भएपछि मात्रै गर्न सकिने डाक्टरहरूले बताएका छन् ।
क्याप्सन: टिचिङ अस्पतालको बर्न वार्डमा उपचार गराइरहेका कपिल श्रेष्ठसँगै उनकी श्रीमती शान्ता श्रेष्ठ । तस्बिरः विनिता दाहाल/सेतोपाटी

0 comments

Write Down Your Responses

Powered by Blogger.