अन्तर्राष्ट्रिय तेक्वान्दोमा विजयी सम्मानित

काठमाडौ, भदौ १४। सातौँ मलेसिया क्लासिक अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता नेपाली जुनियर खेलाडीलाई नेपाल तेक्वान्दो सङ्घले आज सम्मान गरेको छ।
मलेसियाको क्वालालम्पुरमा यही भदौ ७ देखि ९ गतेसम्म भएको प्रतियोगितामा नेपालले एक रजत र दुई कास्य पदक जितेको थियो। पाँच नेपाली खेलाडीले भाग लिएको उक्त प्रतियोगितामा चार खेलाडीले पदक चुम्न सफल भएका थिए। महिलाको २१ केजीमुनिको खेलमा दिया भट्टराईले नेपाललाई रजत दिलाएकी थिइन्। हिमांशु झा र युनिशा न्यौपानेको जोडील् पुम्से विधामा तथा आविष्कार सुनुवारले एकल पुम्सेमा नेपाललाई कास्य पदक दिलाएका थिए।
रजत विजेतालाई रु १० हजार र कंास्य विजेतालाई रु पाँच हजारका दरले पुरस्कृत गरिएको हो। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवाराज लामा र नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशम्शेर राणाले उनीहरूलाई सम्मान गर्नुभएको हो।
टोली नेता रचना क्षेत्री, व्यवस्थापक पवन क्षेत्री र अर्का सहभागी खेलाडी रेसविक्रम भट्टराईलाई पनि प्रशंसापत्रद्वारा सम्मान गरियो। प्रतियोगितामा सहभागी पाँचै खेलाडी भैरहवाको सिद्धार्थनगरस्थित हेभेन्ली गार्डेन किड्स क्याम्पसमा अध्ययनरत छन्। सहभागी नेपाली खेलाडी सातदेखि १० वर्षसम्मका हुन्। नेपालले यति कम उमेरको टोली अन्तर्राष्ट्रिय तेक्वान्दोमा पठाएको यो पहिलो अवसर थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव लामाले यति कम उमेरका खेलाडीले पदक जितेर सिङ्गो राष्ट्रलाई गौरवान्वित तुल्याएको बताउँदै यो सफलताले नेपाली खेलकुदको जगलाई मजबुत बनाएको विचार व्यक्त गर्नुभयो

0 comments

Write Down Your Responses

Powered by Blogger.