दुई चलचित्रको विषयमा व्यापक टीकाटिप्पणी सुरु भएको छ।
आगामी दसैंमा प्रदर्शन गर्ने लक्ष्य बोकेका ती चलचित्र हुन्, काले र काली। कालेको सुरुमा खुर्पा नाम राखिएको
थियो। तर जब सुटिङ सुरु हुन थाल्यो, तब चलचित्रको नाम काले राखियो। कालेमा मुख्य कलाकार सौगात मल्ल छन्। चलचित्रको पोस्टरमा पनि सौगातले खुर्पा हातमा लिएको राखिएको छ। चलचित्रलाई उद्धव अविदितले निर्देशन गरेका हुन्। चलचित्रको सामाजिक सञ्जाल फेसबुक, टि्वटरलगायतमा व्यापक रूपमा प्रचार–प्रसार सुरु गरिएको छ। कालेलाई ‘टिपिकल क्लासिकल एडभेन्चर मुभी’ भनी स्लोगान राखिएको छ।
यसअघि कालापानी चलचित्र बनाएका उद्धव अविदित ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र बनाउने निर्देशकमा पर्छन्। यसअघि खुर्पा शीर्षक राख्दा यसको विषयवस्तुका बारेमा व्यापक चर्चा भएको थियो। लूट चलचित्रमा हाकु कालेबाट रजतपटमा स्थापित भएका सौगातलाई नै केन्द्रविन्दुमा राखेर ‘काले’ शीर्षक राखिएको निर्माण पक्षले जनाएको छ। चलचित्रको शीर्षक मौलिक राख्दा दर्शकले मन पराउने भएकाले काले राखिएको बताइन्छ।
यस्तै, नायिका रेखा थापाले काली चलचित्र बनाएकी हुन्। रेखा फिल्मको ब्यानरमा निर्मित चलचित्रको निर्देशन सबिर श्रेष्ठले गरेका छन्। त्यसअघि कालीको निर्देशन हिमग्यापटासी शेर्पाले गर्ने सम्झौता भए पनि रेखाले अन्तिम समयमा सबिर श्रेष्ठलाई निर्देशनको जिम्मा दिएकी थिइन्। दसैंको मुखमा असोज २५ गते रिलिज गर्ने डेट नै तोकिएको कालीलाई रेखाले आफ्नो महत्वाकांक्षी चलचित्र मानेकी छन्।
श्रीमान् छविराज ओझासँग सम्बन्ध विच्छेद गरेर एकल जीवन बिताउँदै आएकी रेखाले कालीको वितरणको जिम्मा भने छविलाई नै दिएकी छन्। त्यति मात्र होइन, निर्मातामा समेत छविकै नाम राखिएको छ। कालीमा रेखा थापाले तीनवटा चरित्र दर्शकले देख्न पाउने बताइन्छ। त्यसमा पनि प्रहरी निरीक्षक (इन्सपेक्टर) भएर उनले गरेको भूमिकाको चलचित्र क्षेत्रमा चर्चा परिचर्चा सुरु हुन थालेको छ। आगामी निर्वाचनमा एमाओवादीबाट प्रत्यक्षमा निर्वाचन जितेर मन्त्री बन्ने सपना बोकेकी रेखाले चुनाव भयो भने समय दिन नपाइने ठानेकैले पूर्वपति छविलाई काली वितरणको जिम्मा दिएकी हुन्।
काली चलचित्र सुटिङका बेला करिब डेढ महिनासम्म पर्सालगायत जिल्लामा बसेका कारण रेखा ती क्षेत्रमा चर्चामा आएकी थिइन्। सोही कारण आगामी संविधानसभा निर्वाचनको प्रत्यक्षतर्फ रेखा थापाको नाम पर्सा एमाओवादीले सिफारिस गरेको चर्चा चलेको छ। जबकि उनले धेरैअघिदेखि मोरङ ८ नम्बर क्षेत्रबाट चुनाव लड्ने मनशाय पार्टी नेतृत्वसँग गरेकी थिइन्। तर सो क्षेत्रबाट अघिल्लो निर्वाचनमा विजयी भएका गोपी अछामीले दाबी नछाडेपछि एमाओवादी नेतृत्वले उनको नाम अन्य जिल्लाबाट सिफारिस गर्न लगाएको स्रोतले बतायो। अन्तिममा भने रेखा थापालाई समानुपातिकतर्फ उम्मेदवार बनाउने गरी नाम सिफारिस गर्ने तयारी भएको एमाओवादी आबद्ध एक कलाकारले तरुणलाई बताए।
0 comments
Write Down Your Responses