विमलले नेपालको हार जोगाए, नेपाल शीर्ष स्थानमा

यसअघि खेलको १३ मिनेटमै हसन बसिरले पाकिस्तानलाई गोल दिलाएका थिए । खेलमा नेपालले गोल गर्ने थुप्रै अवसर गुमाएको थियो ।
नेपालले खेल आफ्नो नियन्त्रणमा लिए पनि गोल गर्न नसक्दा बराबरीमै चित्त बुझाएको हो । यो खेलसँगै नेपाल दुई खेलबाट ४ अंकका साथ गोल अन्तरका आधारमा भारतलाई पछाडि पार्दै समूह ‘ए’को शीर्ष स्थानमै रहेको छ ।
नेपालले पहिलो खेलमा बंगलादेशलाई २–० ले हराएको थियो ।
यता, जारी प्रतियोगितामा ५ पटकको च्याम्पियन भारतले राम्रो प्रदर्शन गर्न नसके पनि भाग्यको भने साथ पाउँदै आएको छ । पहिलो खेलमा पाकिस्तानी कप्तानको आत्मघाती गोलले १–० को संघर्षपूर्ण विजय हात पारेको भारतले दोस्रो खेलमा बंगलादेशसँग हार नजिक पुगेर पनि १–१ को बराबरी खेलेको हो ।
सशस्त्र प्रहरी बलको हलचोक मैदानमा भएको खेलको ८२ औं मिनेटमा अतिकर रहमान मेसुले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।
तर, इन्जुरी समयको अन्तिम घडीमा भारतीय कप्तान सुनील क्षेत्रीले गोल गर्दै टिमलाई महत्वपूर्ण एक अंक दिलाउन सफल भए ।
यो बराबरीसँगै भारतले दुई खेलबाट ४ अंक बटुलेको छ भने बंगलादेशको १ अंक मात्र भएको छ ।
अब समूहको अन्तिम खेलमा नेपालले बिहीबार भारतको सामना गर्दैछ । दशरथ रंगशालामा हुने खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ । सोही समयमै पाकिस्तानले हलचोक मैदानमा बंगलादेशको सामना गर्नेछ ।
0 comments
Write Down Your Responses