अपहरण आरोपमा नेकपा माओवादी इन्चार्ज पक्राउ

काठमाडौं : राजधानीको कपन फैकास्थित त्रिज्योति उच्चमाविका सञ्चालक नरकान्त राईलाई बन्धक बनाएको आरोपमा नेकपा-माओवादीका काठमाडौं निर्वाचन क्षेत्र ४ का इन्चार्ज प्रवीण उपनामका टेकबहादुर
बोगटीलाई प्रहरीले पक्राउ गरेको छ।
बोगटीमाथि राईलाई गत माघ १४ गते बिहान ११ बजे तिलगंगाबाट अपहरण गरी ललितपुर कुपण्डोलस्थित माओवादी कार्यालयमा लगेर आठ घन्टा बन्धक बनाएको आरोप लागेको छ। बन्धकबाट छुटेपछि राईले महानगरीय प्रहरी परिसर हनुमानढोकामा उजुरी दिएका थिए।
प्रहरीले माओवादीका राज्य समिति सदस्यसमेत रहेका बोगटी र अर्का सुवर्ण भनिने मानबहादुर बिष्टलाई गत मंगलबार पक्राउ गरको हो। जाहेरीमा उल्लेख गरिएका दिलबहादुर खत्री भने फरार छन्।बोगटी, खत्रीलगायतले राईलाई माओवादी पार्टी कार्यालयमा लगेर बन्धक बनाई एक करोड ७८ लाख ७६ हजार रुपैयाँको कागज गराएको आरोप राईको छ। सोखुम्बु बुङ गाविस घर भएर मूलपानी बस्दै आएका राईले माओवादीका नामबाट आफूलाई अहिले पनि धम्की आइरहेको बाए।
राईले आफू र बोगटीबीच कुनै लेनदेन नभएको दाबी गरेका छन्।
‘मलाई पहिला पनि टाइगर, कोब्रा समूहका नामबाट चिठी पठाएर चन्दा मागिरहेका थिए, मैले दिइनँ, त्यसपछि अपहरण गरी बन्धक बनाएर कागज गराए’, उनले भने, ‘मलाई माओवादीको पार्टी कार्यालयभित्र लगेर कुटपिट गरे, त्यहाँ नेत्री पम्फा भुसाललाई समेत मैले देखें। बोलाउन खोज्दा दिएनन्। मेरा छोराछोरीलाई समेत पार्टी कार्यालयमै लगेर यातना दिने धम्की दिएपछि मैले कागजमा हस्ताक्षर गर्न बाध्य भएँ।’
हनुमानढोका परिसरका प्रमुख एसएसपी रमेश खरेलले अनुसन्धानका क्रममा लेनदेनको विषय भएको पाइए पनि कानुनी बाटो नअपनाई राईलाई आठ घन्टा बन्धक बनाएकाले बिष्ट र बोगटीलाई पक्राउ गरेको बताए।उनले भने, ‘कानुन हातमा लिने अधिकार कसैलाई छैन। दुईजनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धकमा अभियोग मुद्दा दायर गरी अनुसन्धान भइरहेको छ।’नेकपा-माओवादीले भने बोगटीलाई राजनीतिक आस्थाका आधारमा षड्यन्त्रपूर्वक फसाइएको दाबी गरेको छ।
राज्य समित इन्चार्ज दिनेश शर्मा र सेक्रेटरी दिलीप प्रजापतिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘सत्यतथ्य नबुझी मोटरसाइकल दुर्घटनाको विषयमा बुझ्न भनेर गौशाला प्रहरी कार्यालयबाट पक्राउ गरिएकाले बिष्ट र बोगटीलाई तत्काल रिहाइको माग गर्छौं। यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी पनि स्वयं प्रशासनले लिनुपर्ने हुन्छ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.