बेलायतको भिसा छाडेर गाउँको शैक्षिक विकासमा लागे पोखराका पूर्णबहादुर

स्न १९९२ मा बेलायती सेनाबाट अवकाश पाएपछि उनी निरन्तर दुर्गम गाउँका विद्यालय बनाउन सहयोगी बन्दै आएका छन् । उनका बेलायती साथीहरुले व्यक्तिगत रुपमा संकलन गरेको रकम नेपाल ल्याएर गाउँका विद्यालय भवन निर्माणमा लगाएका छन् ।
पश्चिमका कास्की, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वतदेखि पूर्वका खोटाङ र ताप्लेजुङका ग्रामीण विद्यालय उनको छनौटमा रहेको कान्तिपुर दैनिकमा खबर छ । उनी आफू भने विपन्नताका कारण पढ्न नसकेका विद्यार्थीलाई आर्थिक सहयोग गर्छन् । बेलायतबाट आउने रकम उनी छुँदै नछोई सहयोगीमार्फत विद्यालय निर्माणका लागि पठाउँछन् । उनको भूमिका स्वयंसेवीको मात्र हुन्छ ।
हालसम्म ६० वटा जीर्ण विद्यालय भवन पक्की बनाउन करोडौं खर्च भइसकेको उनले बताए । विद्यालय भवनसँगै विपन्न, अपांग र एकल गरी ६ हजार बालबालिकालाई सहयोग दिइसकेका छन् । उनका अनुसार वाषिर्क १० देखि १५ हजारसम्म सहयोग दिने गरेका छन् । आर्थिक रुपमा टाट पल्टिएका विद्यालयलाई माथि उठाउनेदेखि शिक्षकलाई तलब खुवाउनेसम्मको सहयोग उनले गर्दै आएका छन् । शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ४ वर्षअघि उनलाई राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मान पनि गरिएको थियो ।
बेलायती सैनिकबाट अवकाश पाएपछि पनि उनलाई जागिरका निकै अवसर आएका थिए । ‘यतिका वर्ष सैनिक सेवामा विताइयो फेरि किन उतै जाने भन्ने लाग्यो,’ गुरुङले भने, ‘स्वदेशमै बसेर शिक्षा क्षेत्रमा सहयोग अभियानमा लागेँ ।’ यस अभियानले आत्मसन्तुष्टि दिएको उनले बताए । अवकाश पाएका गोर्खा सैनिकको भीडमा उनी उदाहरण बनेका छन् ।
0 comments
Write Down Your Responses